कपिलवस्तु । कपिलबस्तुको एक विद्यालयमा विद्यार्थीको दुई समूहबीचको आपसी झडपमा परी दर्जन बढी घाइते भएका छन् । जिल्लाको विजयनगर गाउँपालिका–१ स्थित गुगौली दुधाधारी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरु बीच पेनले घोचेको निउँमा आइतबार झडप भएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी प्रमुख दानबहादु र कार्कीका अनुसार बुधबार होलिको दिन पेनले घोचेको विषयलाई लिएर सोही दिन पनि सामान्य झगडा भएको थियो र आज सोही विषयलाई लिएर झडप भएको हो । झडपमा परी दर्जन बढी सुरक्षाकर्मी तथा केही विद्यार्थीहरु घाइते भएको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी प्रमुख रण बहादुर विष्टले ग्लोबल आवाजलाई जानकारी गराए । गएको बुधबार कक्षा कोठामा विद्यार्थीहरु बीच पेनले घोचेको विषयम सुरु भएको सामान्य विवादले आइतबार उग्र रुप लिएको हो । विद्यालयका प्रधानध्यापक सुकदिप प्रसाद कोरीका अनुसार कक्षा १० मा अध्ययरत विद्यार्थीहरु मनिष दर्जी, कैलाश सुनार, नविन मगरको समूहले सोही कक्षामा अध्ययनरत उमेश यादवलाई कुटपिट गरेपछि घटना सुरु भएको थियो ।
३ जना विद्यार्थीले उमेशलाई कुटपिट गरेपछि उनले पनि विद्यालयबाहिबार मान्छे बोलाएर मनिष, कैलाश र नविनलाई कुटपिट गरेका थिए । उक्त घटना लगत्तै विद्यालयले विद्यार्थीहरुलाई छलफलमा राखी थप छलफल गर्नेगरी आज आइतबार विहान ११ बजे उपस्थित हुने गरी उनीहरुका अभिभावकलाई पत्र काटेको थियो ।
