संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी सम्झौता बुझाउन कांग्रेसले घर-घरमा पुस्तिका पठाउने
नेपाली कांग्रेसले संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी)सम्झौता र एमसीसीमा विकास परियोजना रहेको बुझाउनलाई नागरिकक्को घर-घरमा पुस्तिका पुर्याउने भएको छ । पुस्तिकासहित भिडिओ पनि बनाउने क्रममा रहेको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।
चुनावी प्रचार अभियानसँगै एमसीसीको भ्रम हटाउने उनले बताए। ‘चुनावी अभियान फागुन २९ गतेबाट सुरु हुन्छ। एमसीसीको सत्यता के हो भनी कांग्रेसले घर घरमा पुस्तिका पठाउँछ।’ खड्काले भने। देशभरका वडा कार्यसमितिका सदस्यलाई सक्रिय बनाई घर-घरमा पुस्तिका पुर्याउने बताइएको छ । फागुन २० गतेदेखि सुरु गर्ने तय गरिएको प्रचार अभियान ९ दिन पछि सारिएको छ। फागुन २९ देखि चैत २९ सम्म प्रचारात्मक अभियान गरिने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । संगठन सुदृढीकरणसहित स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउने लक्ष्य राखेर ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गरिने उनले बताए ।
प्रचार अभियानमा पार्टीका सबै संगठनका परिचालन गरिने भएको छ। ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीति पार्टीले लिएको महामन्त्री शर्माले बताए । स्थानीय तहमा कांग्रेसमा आवद्ध अधिकतमलाई जिम्मेवारी सुम्पने तयारी गरिएको छ। ‘पद हुने तर जिम्मेवारी नहुने हाम्रो पुरानो प्रचलन छ।यसपटक जिम्मेवारीविहीन बनाउँदैनौं।’ उनले भने ।प्रचार अभियानमा ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटिने छन् । चुनावी प्रसारलाई वृहत् गराउने उद्देश्यले अभियानको घोषणा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाबाट हुने बताइएको छ।वडाका संरचनालाई पूर्णता दिने, प्रशिक्षण सञ्चालन गर्ने,भेला गर्ने,सम्मान लगायतका कार्यक्रम प्रचार अभियानमा हुनेछ । केन्द्रले तय गरेको कार्यक्रम अनुसार प्रदेश र जिल्लाले लागू गर्नेछन्। केन्द्रले बनाएको अभियानलाई सहयोग पुर्याउन तल्लो संरचनाले थप कार्यक्रम तय गर्न सक्नेछन् ।